काठमाडौं – एक करोड बढीको सुनसहित तीन भारतीय नागरिकलाइ चितवन प्रहरीले पक्राउ गरेको छ ।
एक करोड १० लाख मूल्य बराबरको सुन र हिरा जडित गरगहनासहित तीन जना भारतीय नागरिकलाई मंगलबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय विनोद प्रसाद, कारमा सवार भारत पश्चिम बंगाल राज्यको हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ताका ५१ वर्षीय गणपत कुमार तोसावर र सोही स्थानका ४२ वर्षीय नरेश बर्मा रहेका छन् ।
प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा रहेको टोलीले मंगलवार राती एक बजे भरतपुर महानगरपालिका वडा नं १२ गोन्द्राङमा चेकजाच गर्दा अवैध ६३.८९८ तोला सुन र २२.८७८ तोला हिराजडित तयारी अवस्थाका गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
WB 12 AV 5566 भारतीय नम्बर को टाटा नेक्सन गाडीको भित्री भागमा लुकाएर अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । कारको ड्राईभर बस्ने सिटको पछाडि पट्टीको सिटमुनी, गियर बक्स भित्र र एयर फिल्टर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गरगहना प्रहरीले बरामद गरेको हो ।
गर गहना सहित पक्राउ परेका उनीहरूलाई पथलैयामा रहेको राजश्व अनुसन्धान कार्यालयमा पठाइ घटनाको थप अनुसन्धान भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन् ।
0 comment