काठमाडौं - निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने जनाएको छ। 

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएकाले चैत ५ गतेसम्म आचारसंहिता कायम रहने आयोगले जनाएको हो। आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको हो।

संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ । आचारसंहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड-७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ। 

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो । आयोगका अनुसार आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिलाई लागू हुनेछ। 

यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचारसंहिता लागू हुनेछ।

निर्वाचन आचार संहिताको पालना गरी निर्वाचनको स्‍वच्छता र विश्वासनीयता कायम गर्न आयोगले अपिल गरेको छ। आज राष्ट्रपतिमा मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता लिनसक्ने र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको उम्मेदवारी परेको छ।