काठमाडौं - नेपाल प्रहरीका नायब महानिरीक्षक श्यामलाल ज्ञवाली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उजुरीमा भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उल्लेख छ । ज्ञवालीको भर्ना प्रक्रिया मै त्रुटि रहेका कारण रद्द गर्नुपर्ने मागसहित धनगढी घर भई हाल ललितपुरको जावलाखेल बस्ने शेरबहादुर चन्दले अख्तियारमा उजुरी दायर गरेका हुन् ।

उजुरीमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले आफ्नो नागरिकतामा उल्लेखित वास्तविक उमेरभन्दा कम देखाएर राज्यलाई ढाँटी प्रहरी सेवा प्रवेश गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान र कारबाहीको माग गरिएको छ ।

२०५० सालमा संशोधन गरिएको प्रहरी नियमावलीमा नोकरीमा प्रवेश गरेको बेलामा निजले पेस गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्ममिति वा वर्षबाट हुने आउने उमेर र त्यस्तो अभिलेख नभएमा निजले नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्ममिति वा वर्षबाट हुन आउने उमेर भर्नाका लागि मानिने उल्लेख छ ।

उक्त पदका लागि दरखास्त बुझाउने अन्तिम मिति भने ९ पुस २०५० थियो । हाल संशोधनपछि प्रहरी नियमावलीमा दरखास्तको अन्तिम दिनसम्म इन्स्पेक्टरका लागि २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

उजुरीमा ज्ञवालीले काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता र प्रहरीको कर्मचारी प्रशासन शाखामा उनको अभिलेख हेरफेर नभएको बारेमा अनुसन्धान गर्न र दोषी देखी कारबाही गर्न पनि माग गरिएको छ ।

डीआईजी ज्ञवालीले भने बढुवाको समयमा अनावश्यक विवादमा ल्याउन आफु विरुद्ध उजुरी हालिएको बताए । उनले भने, ‘कसैले उजुरी दिँदैमा कारबाही हुन्छ नै भन्ने हुँदैन, मेरो नागरिकता र शैक्षिक प्रमाणपत्र त्यहीँ छ। जिल्ला स्तरीय परीक्षमा नै जन्ममिति उल्लेख हुन्छ । त्यहीअनुसार एसएलसी रजिस्ट्रेसनमा पनि जन्ममिति उल्लेख भएको थियो । त्यसैअनुसार अन्य प्रमाणपत्र बनेका छन् । नागरिकतामा मैले कुनै फेरबदल गरेको भए पो म दोषी हुँला ।’  उनले नागरिकताको जन्ममिति र अन्य प्रमाणपत्रमा उल्लेखित जन्ममितिमा कुनै फरक नरहेको दाबी गरे ।

प्रहरी कर्मचारीको नियमावली २०४९ अनुसार प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा हुने उल्लेख छ । तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ।

नियमावली अनुसार ज्ञवालीको उमेर विवादित देखिँदैन । यसअघि उमेर विवादकै कारण प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका थिए । उनीविरुद्ध पनि अख्तियारमा उजुरी परेको छ । उनले उमेर ढाँटेर सेवा प्रवेश गरेको र एसएसपीमै अवकाश पाउनुपर्ने उल्लेख उजुरीमा गरिएको थियाे ।