काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई राजीनामा गर्न बाध्य पारेको खुलासा गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै बन्दैन।' 

कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही खुलाएका छैनन्। उनका समर्थकहरूले भने कमेन्टमा निर्वाचित मेयर पद कसैले खोस्न नमिल्ने भन्दै आफ्नो काममा अगाडि बढ्न सुझाव दिएका छन्। समर्थकहरूले कसैले राजीनामा माग्दैमा राजीनामा नगर्न पनि साहलाई सुझाएका छन्। 

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा भारी मतले विजयी भएका बालेन काठमाडौंमा आक्रामक काम गर्दै आएका छन्। उनले नक्साविपरित निर्माण भएका टहरा भत्काउनुका साथै पार्किङ क्षेत्र पनि व्यवस्थित गरेका छन्। टुकुचा खोला फर्काउने अभियानमा समेत लागेका साहले त्यसका लागि विभिन्न ठाउँमा रहेका संरचना भत्काएका थिए। त्यस्तै थापाथलीको सुकुम्बासी बस्ती हटाउन पनि उनी निरन्तर पहल गरिरहेका छन्।

काम गर्दैगर्दा उनीमाथि आलोचना गर्नेहरूको पनि कमी छैन। गरिब मजदुरहरूलाई उठिबास लगाउन खोजेको र पुरानो संरचनाहरू भत्काउन खोजेको भन्दै उनीमाथि एकथरीले आलोचना गर्दै आएका छन्।