काठमाडौं - प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाउने स्कुल बसका चालकसहित ६ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार काठमाडौंको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा विद्यार्थी बोकेको स्कुल बसका चालकसहित ६ जना चालक पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा बा ३ ख ६३०३ नम्बरको रिव्स स्कुल गुर्जुधाराका विद्यार्थी बोकेको चन्द्रागिरी यातायातको बस चालक रामेछापका गणेश दमाई, बागमती प्रदेश ०३-००१ ख १७ ०६ नम्बरको ट्रक चालक मकवानपुर घर भएका गणेश चौलागाईँ, बागमती प्रदेश ०२-०३४ प ७९ २९ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकका मेख बहादुर थापा, ग १० प ९८ ३४ नम्बरको स्कुटर चालक लमजुङ घर भएका संजय गुरुङ, प्रदेश ३ -०१-०२५ च ६८ ८२ नम्बरको पिकअप जीपका चालक धादिङका विजन सिल्वाल र ग १ ख ७१ ४५ नम्बरको बस चालक लमजुङ घर भएका श्याम थापा पक्राउ रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले आज २० ओटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ६ जना चालकलाई फेला पारेको हो । जसमा सार्वजनिक सवारी साधनका चालक ३ जना, मोटरसाइकल/स्कुटरका चालक १/१ जना र पिकअप जीपका चालक १ जना गरी ६ जना चालकहरु रहेका छन् ।
लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा पठाइएको छ ।
विद्यार्थी बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुऔषध सेवन गरेर सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य रहेको काठमाडौं प्रहरी परिसर प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्किले बताए ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएता पनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरु भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिब्रताका साथ अगाडी बढाइएको पनि काठमाडौं प्रहरी परिसरका प्रमुख कार्किले जानकारी दिए ।
मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ ।
सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
0 comment