काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु दुःखद निर्णय भएको बताएका छन् । 
सरकारले हिंसा दिवस (जनयुद्ध दिवस) लाई राष्ट्रिय दिवस मनाएको भन्दै यसरी आपत्ती जनाएका हुन् ।  

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिंसा टुंगिएको भएपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दुःखद पक्ष भएको टिप्पणी गरे । हिंसा दिवसमा सार्वजनिक बिदा दिनु गलत प्रवत्ति भएको उनको भनाइ छ ।

ओलीले भने हिंसा टुंगिएको थियो तर हिंसाको धङधङी अझै पनि छ  जस्तो देखिन्छ कतिपय मानिसको क्रियाकलापमा । अहिलेको सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर त्यसलाई फेरि पनि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय गर्यो । 

नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने पनी बताए । ’आफैले छोडेर त्यो बाटो शान्ति प्रक्रियामा आइसकेपछि किन त्यसको महिमामण्डन गर्नुपर्यो, उनले भने ।