काठमाडौं - काठमाडौं उपत्यकामा आज दिउँसो असिनासहितको वर्षा भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा  वर्षासँगै हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असिनापानीका कारण भाइटीका लगाउन हिँडेका मानिसहरू प्रभावित भएका छन्।

बिहान घाम लागेपनि दिउँसोबाट असिनासहितको वर्षा भएको छ। काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। अधिकांश स्थानमा बाक्लो बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहने विभागले जनाएको छ।

आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।