काठमाडौँ – तिहारमा देउसी भैली खेल्दा मादल वासुरीको धुनमा लोक भाकामा भटयाउने चलन थियो तर अहिले नेपाली समाजको विशिष्ट सांस्कृतिक धरोहरका रूपमा रहेको तिहार र यससँग जोडिएको देउसी–भैलो परम्पराके तीव्र रूपमा फेरिदै गएको छ ।
समाजलाई जोड्ने, आपसी सद्भाव बढाउने र पौराणिक कथाहरूलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने जीवन्त माध्यमका रूपमा रहेको यो पर्व यतिबेला आधुनिकता र प्रविधिको प्रभावसँगै व्यापारिक र भड्किलो प्रदर्शनमा देखिन थालेको छ ।
घरको आँगनमा उभिएर भट्याइने मौलिक देउसी भाकाहरू आजभोलि सडक कब्जा गरेर आयोजना गरिने कन्सर्ट र डिजेमा छन ।
विगतका दशकहरूमा तिहार आउनुभन्दा हप्तौँ अघिदेखि गाउँ र टोलमा छुट्टै प्रकारको रमाइलो देखिन्थ्यो । युवा, बालबालिका र पाका पुस्ता मिलेर देउसी खेल्ने समूह निर्माण गर्ने प्रचलन थियो । देउसी टोलीमा विशेषगरी सुरिलो स्वर भएको, पौराणिक र ऐतिहासिक कथाहरूको ज्ञान भएको तथा छन्द मिलाएर कवितात्मक शैलीमा बोल्न सक्ने व्यक्तिलाई ‘भट्याउने’ मुख्य जिम्मेवारी दिने चलन थियो ।
मौलिक लोक बाजाहरूको तालमा स्वर मिलाउँदै ‘देउसी रे’ भनेर साथ दिने गरिन्थ्यो ।
भट्याउने व्यक्तिले प्रस्तुत गर्ने हरेक शब्दमा समाज, इतिहास र पौराणिक गाथाहरूको समिश्रण भेटिन्थ्यो । ‘हामी त्यसै आएनौँ, बलि राजाले पठाए’ भन्दै सुरु गरिने देउसीमा द्वापर युगका दानवीर बलि राजाको कथा, भगवान् राम १४ वर्षको वनवासपछि अयोध्या फर्किंदाको खुसीयाली र कृषियुगको आगमनसँगै मानिसले प्रकृतिलाई गरेको सम्मानका कथाहरू सुन्ने र बुन्ने गरिन्थ्यो ।
आज देउसी भैलीमा आधुनिकता भित्रीएपछि यसको मौलिकता जोगाउन निकै कठिन भएको चिन्ता बुढापाकाहरुको चिन्ता देखिन्छ । मारुनी र लोक भाका आज देउसीले विर्सिएकोमा चिन्ता बढेको देखिन्छ । देउसीको मौलिकता कतै पनि सुनिदैन । युवा पुस्ताहरुमा डिजे घन्केपछि त्यसैमा रमाउनेहरुको भिड देखिएपछि देउसीको मौलिकता हराएको जानकार बताउछन ।


0 comment