काठमाडौं - गत सोमबार राति लन्डनमा आयोजित बालोन डी’ओर समारोहमा सहभागी भइरहेका फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पे चीनको सामाजिक सञ्जालमा समेत ठूलो विवादको केन्द्र बनेका थिए।

फुटबल समर्थकहरूले एउटा भिडियो क्लिप फेला पारेका थिए जसमा एम्बाप्पेले आफूलाई सबैभन्दा बढी हँसाउने इन्टरनेट मिमबारे ठट्टा गरेका थिए। उक्त मिममा उनको अनुहार चीनका पूर्व नेता माओत्से तुङजस्तै देखिने एक ‘चिनियाँ तानाशाह’ को तस्बिरमा जोडिएको थियो। माओको शासनकाल चीनको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण समयमध्ये एक मानिन्छ।

यो विषय सामाजिक सञ्जालमा तीव्र गतिमा फैलियो। त्यसपछि चिनियाँ ब्रान्डहरूले क्रमशः एम्बाप्पेसँगको सम्बन्ध तोड्न थाले। सरकारी टेलिभिजन सीसीटीभीको मातृसंस्था चाइना मिडिया ग्रुपले स्पेनिस फुटबल लिग ला लिगाका खेलहरूको प्रसारणसमेत स्थगित गर्‍यो।

यस विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “चिनियाँ जनताको भावनामा चोट पुर्याउने शब्द र व्यवहारको चिनियाँ समाजका सबै क्षेत्रबाट स्वाभाविक रूपमा सामूहिक विरोध हुनेछ।”

तर चिनियाँ इन्टरनेटमा धेरै प्रयोगकर्ताले एम्बाप्पेको कुन अभिव्यक्ति वा व्यवहारले जनताको भावनामा चोट पुर्‍यायो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेका थिएनन्। उनीहरूले माओको नामसमेत लिन हिचकिचाएका थिए। चीनमा माओलाई अझै पनि लगभग पवित्र व्यक्तित्वका रूपमा सम्मान गरिन्छ।

चीनको परिष्कृत इन्टरनेट सेन्सरसिप प्रणालीका कारण त्यहाँका करिब एक अर्ब ४० करोड मानिस विश्वव्यापी इन्टरनेटबाट सीमित छन्। यही कारण धेरै प्रयोगकर्तालाई वास्तवमा के भएको थियो भन्नेबारे स्पष्ट जानकारीसमेत थिएन।

‘चिनियाँ जनताको भावनामा चोट पुर्‍याएको’ भन्ने आरोप मात्रै पनि सामाजिक सञ्जालमा आक्रोशको ठूलो लहर सिर्जना गर्न पर्याप्त देखियो। सामाजिक सञ्जालका एल्गोरिदम र कडा नियन्त्रणमा रहेको इन्टरनेटले उक्त आक्रोशलाई थप फैलायो। बहुमतको विचार विपरीत धारणा राख्न प्रयोगकर्ताहरू हिचकिचाउने वातावरण समेत देखियो।

विवाद चर्किएपछि विश्वका चर्चित फुटबल खेलाडीमध्ये एक एम्बाप्पेले आफ्नो ‘गलत निर्णयसहितको टिप्पणी’प्रति ‘हृदयदेखि माफी’ मागे।

उनको क्लब रियल म्याड्रिड र स्पेनिस फुटबल लिग ला लिगाले पनि माफी माग्दै विज्ञप्ति जारी गरे। विश्वकै लोकप्रिय खेल फुटबलका लागि चीन निकै ठूलो बजार मानिन्छ।

पछि बेइजिङले एम्बाप्पेको माफीलाई ‘गम्भीरतापूर्वक लिएको’ जनाएको थियो। तर चाइना मिडिया ग्रुपले फुटबल खेलको प्रसारण पुनः सुरु गर्ने वा नगर्ने बारे भने कुनै जानकारी दिएको छैन।

यद्यपि चिनियाँ सामाजिक सञ्जालमा आक्रोश भने कम भएको छैन।

चीनको लोकप्रिय सामाजिक सञ्जाल वेइबोमा एक प्रयोगकर्ताले लेखेका छन्, “माफी माग्नु उनले गर्नुपर्ने न्यूनतम काम हो। तर म उनलाई माफ गर्दिनँ। उनीमाथी प्रतिबन्ध लगाउनुपर्छ भन्ने पक्षमा छु।”

एम्बाप्पेले अन्तर्वार्ताका क्रममा माओको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेका थिएनन्। तर, धेरै चिनियाँ प्रयोगकर्ताले कम्युनिस्ट चीनका संस्थापक नेतासँग जोडेर गरिएको कुनै पनि ठट्टालाई अस्वीकार्य मानेका छन्।

७०० भन्दा बढी प्रयोगकर्ताले मन पराएको एक टिप्पणीमा लेखिएको थियो, “तपाईंले कसको भावनामा चोट पुर्यानुभयो भन्ने थाहा छ? उनी चिनियाँ जनताको आध्यात्मिक आधारस्तम्भ हुन्।”

अर्का प्रयोगकर्ताले लेखेका छन्, “उनी हाम्रो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व हुन्। के एउटा सामान्य माफीले सबै कुरा ठीक हुन्छ भन्ने ठान्नुभएको छ?”

विडम्बनापूर्ण कुरा के छ भने, व्यापक विरोध भइरहे पनि चिनियाँ सामाजिक सञ्जालका धेरै प्रयोगकर्ता एम्बाप्पेले वास्तवमा के भनेका थिए भन्ने जान्न खोजिरहेका छन्।

उनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित च्याटबटमार्फत जानकारी खोज्ने प्रयास गरे। तर, चिनियाँ इन्टरनेटजस्तै ती च्याटबटहरू पनि सेन्सरसिपको दायरामा रहेकाले स्पष्ट जवाफ दिन सकेनन्। केही प्रयोगकर्ताले घटनाबारे व्याख्या गर्ने प्रयास गरे पनि माओको नाम उल्लेख गर्न भने सकेनन्।

केहीले माओलाई ‘१०० युआनको नोटमा रहेको व्यक्ति’ र ‘गुरु’ भनेर संकेत गरेका थिए। ‘गुरु’ भन्ने उपाधि माओले कुनै समय आफ्नै लागि प्रयोग गरेका थिए।

मिम र अन्तर्वार्ताका स्क्रिनसटहरू पनि सामाजिक सञ्जालमा साझा गरिएका थिए। तर ती तस्बिरमा ‘तानाशाह’ भन्ने शब्द र एम्बाप्पेको अनुहारसमेत धमिलो बनाइएको थियो।

चिनियाँ विदेश मन्त्रालयको वक्तव्य तथा एम्बाप्पे, रियल म्याड्रिड र ला लिगाले जारी गरेका माफी पत्रमा पनि माओको नाम प्रत्यक्ष रूपमा उल्लेख गरिएको थिएन।

माओत्से तुङले चिनियाँ गृहयुद्धमा कम्युनिस्ट पार्टीलाई विजय दिलाउँदै जनवादी गणतन्त्र चीनको स्थापना गरेका थिए। उनको सन् १९७६ मा निधन भएको थियो।

उनको शासनकालमा भएका ‘ग्रेट लिप फरवार्ड’ र ‘सांस्कृतिक क्रान्ति’ जस्ता अभियानका कारण चीनले ठूलो मानवीय क्षति बेहोर्नु परेको थियो। ती अभियानका क्रममा परेको भोकमरीले करोडौँ मानिसको ज्यान लिएको थियो भने चिनियाँ समाजमा व्यापक हिंसात्मक दमनसमेत भएको थियो।

यति ठूलो उथलपुथल र मानवीय क्षति हुँदाहुँदै पनि माओ चीनमा अझै सम्मानित ऐतिहासिक व्यक्तित्वका रूपमा स्थापित छन्।

बेइजिङस्थित थियानमेन स्क्वायरमा माओत्से तुङको विशाल तस्बिर राखिएको छ। यसले आधुनिक चिनियाँ जनमानसमा उनको स्थान कति महत्त्वपूर्ण छ भन्ने झल्काउँछ। चीनका अन्य पूर्व नेताहरूभन्दा फरक, माओको संरक्षित पार्थिव शरीर त्यहीँ सार्वजनिक रूपमा प्रदर्शनमा राखिएको छ, जहाँ हरेक दिन हजारौँ मानिस उनलाई हेर्न पुग्छन्।

पछिल्ला वर्षहरूमा युवापुस्तामाझ पनि माओप्रतिको चासो पुनः बढेको छ। उनीहरू माओका लेख तथा पुस्तकहरू पढ्ने र सामाजिक सञ्जालमा उनका भिडियोहरू हेर्ने गर्छन्।

चीनका इतिहाससम्बन्धी पुस्तकहरूमा माओको शासनकालमा भएको विनाश र मानवीय क्षतिलाई कम महत्त्व दिएर प्रस्तुत गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक निष्कर्षअनुसार माओका गल्तीभन्दा उनका उपलब्धिहरू बढी महत्त्वपूर्ण छन्। पार्टीको दृष्टिमा उनी ‘महान् क्रान्तिकारी र महान् मार्क्सवादी’ हुन्।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा किलियन एम्बाप्पेको खातामा मंगलबारदेखि नयाँ प्रयोगकर्ताले फलो गर्न नपाउने व्यवस्था गरिएको थियो। उनको खातामा ‘वेइबो समुदायको नियम उल्लङ्घन गरेका कारण प्रयोगकर्तालाई फलो गर्न प्रतिबन्ध लगाइएको छ’ भन्ने सन्देश देखिएको थियो।

तर चीनबाहिरको विश्वले माओलाई क्रान्तिकारीसँगै एक तानाशाहका रूपमा पनि हेर्ने गरेको छ। त्यसैले विदेशमा बसोबास गर्ने चिनियाँ समुदाय, चीनको राजनीतिक व्यवस्थाका आलोचक तथा दशकौँअघि माओको शासनकालपछि चीन छाडेर गएका परिवारका सदस्यहरूको प्रतिक्रिया भने निकै फरक देखिएको छ।

फुटबल स्टार एम्बाप्पेको एक्स (ट्विटर) मा जारी वक्तव्य अन्तर्गत चिनियाँ भाषामा लेखिएको एक लोकप्रिय टिप्पणीमा भनिएको छ, “तपाईंले माफी माग्नुपर्ने आवश्यकता छैन, तपाईं गलत हुनुहुन्न।”

अर्का चिनियाँ प्रयोगकर्ताले लेखेका छन्, “माफी माग्नुपर्ने त चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले हो। उनीहरूले चिनियाँ जनतालाई बन्धक बनाएर राखेका छन् र उनीहरूको मस्तिष्कमा गलत विचार भरिदिएका छन्।”

चीनमा पहुँच नभएका एक्स र थ्रेड्सजस्ता सामाजिक सञ्जालमा यो विवादले थप मिमहरू जन्माएको छ। केही मिममा एम्बाप्पेको अनुहार माओका अन्य तस्बिरमा जोडिएको छ भने केहीले वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको शरीरमा समेत एम्बाप्पेको अनुहार राखेका छन्।

फिफा विश्वकपको आधिकारिक प्रायोजकसमेत रहेको चिनियाँ दुग्ध उत्पादन कम्पनी मेङनिउले विवादपछि एम्बाप्पेसँगको व्यावसायिक सम्बन्ध तोडेको छ। उक्त कम्पनीको विज्ञापनमा फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेसी र स्पेनका लामिन यामल देखिएका थिए।

यता इन्टरनेटका अन्य प्रयोगकर्ताहरू भने यो विवादको कारण बुझ्नै नसकेको अवस्थामा देखिएका छन्।

रियल म्याड्रिडले जारी गरेको माफीसम्बन्धी पोस्टमा इन्स्टाग्रामका एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “साँच्चै भन्नुपर्दा यो बुझ्न निकै कठिन छ। यस्तो लाग्छ मानिसहरूलाई आफ्ना नेता विरुद्ध बोल्न अनुमति छैन। अनि उनीहरू पुरै विश्वले पनि आफूले जस्तै सोचोस् भन्ने अपेक्षा गर्छन्? यो त हास्यास्पद कुरा हो।”

एक अन्य प्रयोगकर्ताले एक्समा लेखेका छन्, “एउटा तानाशाहलाई तानाशाह भन्न कसरी आँट गर्‍यौ? कस्तो भयानक कुरा!”