काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ कार्यसमिति चयनका क्रममा छुटेका वा पराजित भएका सवैलाई समेटेर अघि बढ्ने बताएका छन् ।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा जित्नेले सबै कुरा जित्ने र हार्नेले सबै गुमाउने भन्ने नभई लोकतान्त्रिक अभ्यासको एक निरन्तर प्रक्रिया भएकाले प्रतिस्पर्धामा छुटेका वा पराजित भएका सबैलाई समेटेर अगाडि बढ्ने बताएका हुन् ।

उनले  पार्टीभित्रको आन्तरिक नेतृत्व चयन गर्नका लागि निर्वाचनको प्रक्रिया अवलम्बन गरिएको र यसबाट विभिन्न सिकाइहरू प्राप्त भएको उल्लेख गरे ।

सभापति थापाले पार्टीका सबै सदस्यहरूको समान अधिकार र हक हुने हुनाले, पार्टी सभापतिलगायतका नेतृत्वले पनि आफ्ना व्यक्तिगत आचरण, कमजोरी र निर्णयहरूको जिम्मेवारी र भारी आफैँ बोक्नुपर्ने स्पष्ट पारे ।

उनले प्रतिनिधिहरुले केवल नेतृत्व मात्रै छानेर बस्ने भन्दा पनि नीति निर्माणका अन्य कार्यहरूमा पनि सबैको सहभागिता हुनुपर्ने र यसले पार्टीलाई बलियो बनाउने धारणा राखे ।