काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र क्याप्सनमार्फत उनले आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दै आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिन गर्न रास्वपा र सरकारलाई अनुरोध गरेका छन्।

उनले अनुसन्धानमा सहयोग गर्ने भन्दै प्रहरी भित्र भएको भ्रष्टाचार विरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन्।

‘प्रहरी भित्रको भ्रष्टाचारविरूद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ,’ उनले लेखेका छन्, ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्।’

सुनारले एक महिलालाई फोनमार्फत अपशब्द, धम्की लगायत दिएर दुर्व्यहार गरेको भन्दै अडिओ सार्वजनिक भएको छ।