काठमाडौं - स्पेनिस फूटबल क्लब रियल म्याड्रीडले पाँचौं पटक फिफा क्लब विश्वकपको उपाधी जितेको छ।

मोरक्कोको राजधानी राबाटस्थित प्रिन्स मोले अब्देल्लाह रंगशालामा भएको खेलमा साउदी अरबको अल हिलाल क्लबलाई ५-३ ले पराजित गर्दै रियलले पाँचौं पटक फिफा क्लब विश्वकपको उपाधी जितेको हो। 

रियलका लागि भिनिसियस जुनियर र फेडेरिको भालभर्देले दुई-दुई गोल गर्दा करिम बेन्जिमाले एक गोल गरेका थिए। अल हिलालका लागि मोसा मारेगाले एक तथा लुसियानो भिएटोले दुई गोल गरेका थिए। 

सन् २००५ देखि सुरु भएको प्रतियोगिताको १९औं संस्करणमा आइपुग्दा फाइनलमा हालसम्मकै सर्वाधिक गोल भयो। यसअघि २०१६ मा भएको फाइनलमा रियलले नै जापानको कासिमा एन्टेलर्ससँग ४–२ गोलको नतिजामा जित निकाल्दा ६ गोल भएको थियो।

त्यसअघि २००७ मा इटालिन क्लबले अर्जेन्टिनाको बोका जुनियर्सलाई ४–२ ले पराजित गर्दा समान ६ गोल भएको थियो। आइतबार रातिको रोमाञ्चक फाइनल जितसँगै प्रतियोगिताको सर्वाधिक सफल क्लब रियलले उपाधि संख्या पाँच पुर्‍याएको छ। यसअघि सन् २०१४, १६, १७, १८ मा रियल विश्व विजेता बनेको थियो।