काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुढीगण्डकीमा आएको बाढीबाट गोरखाको चुमनुब्री क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार र राहतमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।

लामिछानेले आइतबार  सामाजिक सञ्जाल फेसबुकमार्फत बुढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफू मर्माहत भएको बताएका हुन्।

उनले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढीको जोखिम अझै रहेकाले बुढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न उनले अपिल गरेका छन्।

विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै लामिछानेले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउन पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्। उनले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने सन्देश दिएका छन्।