काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना रोकिएको छ। गणना भएको मतको विवरण कम्प्युटरमा प्रविष्ट नगरी थप मतगणना अघि नबढाउन उम्मेदवारहरूले माग गरेपछि करिब एक घण्टादेखि मतगणना रोकिएको हो।
हालसम्म गणना भइसकेका मतको विवरण कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। उक्त काम सम्पन्न भएपछि मात्रै मतगणना अघि बढाउने सहमति भएको उपसभापतिका उम्मेदवार जीवन परियारले जानकारी दिए।
सार्वजनिक भएको १ हजार ३३० मतको परिणामअनुसार खुला उपसभापतितर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता लिएका छन्। भण्डारीले ६७९ मत प्राप्त गर्दा आचार्यले ३९३ मत पाएका छन्। त्यस्तै, गोविन्द भट्टराईले ३४५, सुरेन्द्रराज पाण्डेले ३३७, दीपक गिरीले २६४, धनराज गुरुङले २४० र चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्। खुला उपसभापतिका दुई पदका लागि सात जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ३८२ मतसहित अग्रता कायम गरेका छन्। जीवन परियारले ३३०, फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन्। समावेशी उपसभापतिको एक पदका लागि पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
महामन्त्रीको खुला दुई पदका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सार्वजनिक मतपरिणामअनुसार प्रदीप पौडेल ७८८ मतसहित अगाडि छन्। अमरसिंह पुन मगरले ४७८, उदयशमशेर राणाले ४५६, डा. सुनिलकुमार शर्माले ३२५, गुरुराज घिमिरेले १९७, नैनसिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदका लागि तीन जना उम्मेदवार मैदानमा छन्। सार्वजनिक मतपरिणामअनुसार डिला संग्रौला (पन्त) ले ५८३, महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ र रीता खनालले १५३ मत प्राप्त गरेका छन्।
कांग्रेस सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि शनिबार रातिदेखि उपसभापति र महामन्त्री पदको मतगणना सुरु गरिएको थियो।


0 comment