काठमाडौं - नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन, तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो । रिक्त पदमा मनोनयन गर्न बिभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ ।
बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन् । मनोनयनका बिषयमा स्थायी कमिटीका सदस्यहरूले आ-आफ्ना सुझावहरू प्रस्तुत गरेको उनले बताए ।
बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नै भएको बताएको सचिव अर्यालले जानकारी दिइन् ।
साथै भण्डारीले विगतका आन्दोलनहरूमा आफू स्वयं सरिक भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई अझ सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भई योगदान पुर्याउने मनसायका साथ पार्टी जीवनमा फर्किएको धारणा राखेको सचिव अर्यालले उल्लेख गरे ।


0 comment