काठमाडौँ — चाडवाडको मुखमा काठमाडौं उपत्यका लगायत अन्य ठाउमा मानिसहरुको आवतजावत अघिपछि भन्दा बाक्लो हुन्छ । चाडमा सवारी साधनहरुले मनपरी भाडा असुल्ने र यात्रुहरुलाई सास्ती दिने गरेका थुप्रै गुनासाहरु आउने गर्छन । यसता गुनासाहरुलाई ध्यानमा राखेर यो वर्षको चाडवाडको मुखमा विशेषगरी विद्युतीय सवारीको भाडा दर समायोजन गरेको छ । यातायात विभागले तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरेको जनाएको छ ।
विभागका अनुसार तराईको लामो दूरी (२५० कि.मि. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति कि.मि. प्रति व्यक्ति रु. २.९३ कायम गरिएको छ भने २५ देखि २५० कि.मी. सम्मको दूरीमा रु. ३.०० तोकिएको छ । त्यसैगरी, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति कि.मि. रु. ३.२४ कायम गरिएको छ ।
यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारी साधनले तोकिएको सामान्य भाडा दरमा २० प्रतिशत र सुपर डिलक्स सुविधा लिएका सवारी साधनले डिलक्सको भाडा दरमा थप २० प्रतिशत रकम जोडेर लिन सक्नेछन् विभागको भनाई छ ।
विभागद्धारा जारी आचारसंहिता अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, र ज्येष्ठ नागरिकलाई तोकिएको दरमा अनिवार्य सहुलियत दिनुपर्नेछ । सहुलियत दिँदा निश्चित रुट, कोटा वा दिन नतोकी सधैँ दिनुपर्ने र यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
त्यसैगरी, बढी भाडा लिएको खण्डमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन् भनिएको छ ।


0 comment