काठमाडौं - प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी मधेस प्रदेशले जितेको छ। 

वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले उपाधी जितेको हो।

वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा ७८ रनको लक्ष्य मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले ९.४ ओभर खेल्दै १ विकेटको क्षतिमा पुरा गर्‍यो। पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघले १८.३ ओभरमा अलआउट हुदै ७७ रन बनाएको थियो।

प्रतियोगिताको म्यान अफ दी सिरिज मधेस प्रदेशका नवीन तमाङ घोषित भए।
 
उपाधीसँगै मधेस प्रदेशले नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ। उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघले नगद १५हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमार नगद पुरस्कार र ट्रफी प्रदान गरे।
 
नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा बुधबारदेखि भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए। प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहभागी भएको नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए।