काठमाडौं - आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान एक अंकले खस्किएको छ। ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल ८९औँ स्थानबाट एक स्थान तल झर्दै ९०औँ स्थानमा पुगेको हो।

यद्यपि, नेपालको आर्थिक स्वतन्त्रताको समग्र अंकमा भने सामान्य सुधार भएको प्रतिवेदनले देखाएको छ। अन्य देशको प्रदर्शन तुलनात्मक रूपमा राम्रो हुँदा अंकमा सुधार हुँदाहुँदै पनि नेपालको विश्वव्यापी वरियता एक स्थान तल झरेको हो।

प्रतिवेदनअनुसार कोभिड–१९ महामारीका क्रममा नेपालको आर्थिक स्वतन्त्रताको अंकमा आएको गिरावटबाट पछिल्लो अवस्थामा पूर्ण रूपमा सुधार भएको छ।

समृद्धि फाउन्डेसन र क्यानडास्थित फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक स्वतन्त्रता उच्च भएका देशमा बसोबास गर्ने मानिसको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औसत आयु तुलनात्मक रूपमा बढी हुने गरेको उल्लेख गरेको छ।

नेपालको आर्थिक स्वतन्त्रता पाँच प्रमुख क्षेत्रमा मापन गरिएको छ। तीमध्ये केही क्षेत्रमा सुधार भए पनि केही क्षेत्रमा नेपालको अवस्था कमजोर बनेको प्रतिवेदनले देखाएको छ।

कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षाको क्षेत्रमा नेपाल ९६औँ स्थानमा छ। स्वस्थ मुद्रामा पहुँच तथा अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रताका क्षेत्रमा भने नेपालको अवस्थामा सुधार आएको छ।

प्रतिवेदनमा समेटिएका २४ वटा उपसूचकमध्ये नेपाल सातवटामा अघिल्लो वर्षको तुलनामा माथि उक्लिएको छ। छवटा उपसूचकमा नेपालको स्थान तल झरेको छ भने ११ वटा उपसूचकमा गत वर्षकै स्थान कायम रहेको छ।

समग्रमा हेर्दा नेपालको आर्थिक स्वतन्त्रताको अंकमा सुधार भए पनि विश्वका अन्य मुलुकको तुलनात्मक प्रगतिका कारण नेपालको विश्वव्यापी वरियता एक स्थान खस्किएको प्रतिवेदनले देखाएको छ।