काठमाडौं - महोत्तरीबाट विद्युत्को ट्रान्सफर्मरको तामाको क्वाइलसहित ५ जना प्रहरीको नियन्त्रणमा परेका छन्। असोज १९ गते राति करिब ७ बजेको समयमा महोत्तरी, बर्दिबास नगरपालिका–१ स्थित हमाल टोलबाट ३३ केजी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सर्लाहीको गोडैता नगरपालिका–६, बगदहका ३१ वर्षीय इन्द्रजित महतो, महोत्तरीको बर्दिबास नगरपालिका–८, हात्तीलेटका २९ वर्षीय दिनेशकुमार महतो, २७ वर्षीय भरत यादव, ३१ वर्षीय भुवन भुजेल र २८ वर्षीय जयराम ठाकुर रहेका छन्।
कवाड व्यवसायी इन्द्रजित महतोले पक्राउ परेका अन्य ४ जनासँग उक्त तामाको क्वाइल खरिद गरेको स्वीकार गरेका छन्। नियन्त्रणमा लिइएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी महोत्तरी जिल्ला अदालतबाट पक्राउ परेकै मितिदेखि लागू हुने गरी ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।
प्रहरीले ट्रान्सफर्मर चोरीका घटनामा चोरको सञ्जालको कनेक्सन खोजिरहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण सारु मगरले आरोपीहरूमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतबाट म्याद लिएर गहिरो अनुसन्धान भइरहेको बताए। महोत्तरी, धनुषा र सर्लाही लगायतका स्थानबाट लगातार ट्रान्सफर्मर चोरी भइरहेको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ट्रान्सफर्मर चोरीको घटनाबारे सबै तहबाट अनुसन्धान गर्न प्रहरी लागिपरेको बताए। उनले भने, 'ट्रान्सफर्मर चोरी गर्ने गिरोहसम्म पुग्न हामी सबै प्रकारका अनुसन्धान गर्छौँ।'
मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन्। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार महोत्तरीमा २८, सर्लाहीमा १७, धनुषामा १० र रौतहटमा ३ वटा ट्रान्सफर्मर चोरी भएका हुन्।
चोरीका घटनामा २० वटा मुद्दा दर्ता हुँदा ६ जना पक्राउ परेका छन्। महोत्तरीमा मात्रै २८ वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्कले देखाउँछ।


0 comment