काठमाडौं - रामेछाप नगरपालिकाको वडा नम्बर-१ गोठगाउँका वडाअध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन्। कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष खत्रीले आज नगर प्रमुखसमक्ष राजीनामा पत्र पेश गरेका हुन्।
उनले नेपालको संविधान तथा नगरपालिकाको कानूनबमोजिम आजकै मितिदेखि लागू हुने गरी राजीनामा पेश गरेको पत्रमा उल्लेख गरेका छन्। स्थानीय निर्वाचनका क्रममा जनतासमक्ष गरिएका कतिपय प्रतिबद्धता तथा अपेक्षाअनुसारका कामहरू कार्यान्वयनमा आउन नसक्दा वडावासीको अपेक्षा पूरा गर्न नसकेको खत्रीको भनाई छ।
‘पछिल्लो समय रामेछाप नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं. १ प्रति देखिएको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढङ्गले काम गर्ने वातावरण क्रमश: असहज बन्दै गएको महसुस गरेको छु।’ सामाजिक सञ्जालमा उनले राखेको राजीनामा पत्रमा भनिएको छ, ‘वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखी अघि बढ्नुपर्ने अवस्थामा कतिपय विषयमा बहुमत र अल्पमतको आधारमा व्यवहार हुने, वडा नं. १ का जायज माग तथा आवश्यकतालाई अपेक्षित प्राथमिकता नदिइने र विकास तथा जनसरोकारका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको अवस्था देखिएको मेरो अनुभव रहेको छ।’
उनले जनताको उचित माग र वडाको हितभन्दा व्यक्तिगत असहमति,पूर्वाग्रह वा आन्तरिक मतभेदले प्राथमिकता पाएको अनुभूति हुने गरी निर्णय तथा व्यवहारहरू हुनु लोकतान्त्रिक स्थानीय शासनको मर्मअनुकूल नभएको उनले बताए। पत्रमा भनिएको छ, ‘म कुनै व्यक्ति विशेषप्रति आरोप लगाउने वा व्यक्तिगत असन्तुष्टि व्यक्त गर्ने उद्देश्यले यो राजीनामा प्रस्तुत गरिरहेको छैन। तर जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थामा पदमा निरन्तर रहिरहनु स्वयं वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षमा म पुगेको छु।’
उनले आगामी दिनमा पनि वडा नं.१ तथा समग्र रामेछापको विकास, सुशासन, जनहित र सामाजिक न्यायका पक्षमा आफ्नो क्षमता र विवेकले भ्याएसम्म योगदान गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। रामेछाप नगरपालिकाको मेयर र उपमेयर कांग्रेसले नै जितेको छ।


0 comment