काठमाडौं - नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

हिजो साँझ काँग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनले  उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । डा.रिजालले गगन थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् ।

थापासँगको भेटमा रिजालले भनेका छन्, ‘अहिले म आकांक्षीको रहरबाट अलग भए भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु ।’

उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको, विशेषबाट सभापति भएपछि सभापति गगन थापासँग सम्पर्क टुटेको र अदालतको फैसला सम्मान गर्नुको विकल्प नभएको बताउँदै फेरि काँग्रेसमै जोडिनुको विकल्प नभएको बताएका छन् ।

रिजालसँगको सम्वादपछि सबै नेताहरुको क्षमताअनुसारका व्यवस्थापनबारे आफ्नो धारणा र मान्यता कायम रहेको भन्दै सभापतिका उम्मेदवार थापाले रिजाललाई धन्यवाद दिएका छन् ।