काठमाडौं - साफ यू-२० महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिम स्वदेश फर्किएको छ। टिम विमान बंगलादेशबाट बिहीबार नेपाल आइपुगेको हो|

बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएपछि आज स्वदेश फर्किएको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा,शामसुनाहार जुनियर र उन्नती खातुनले एक-एक गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाएका थिए।

शाहिदाले ४२औं मिनेटमा गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो। 

निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३-० को सहज जित सुनिश्चित गर्यो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष दुई टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए। 

लिग चरणमा पनि बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले फाइनलमा त्यसको बदला लिन सकेन। नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।