काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै सभापति थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएकाले समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको बताए। उनले  कांग्रेसले संसदमा प्रतिपक्षको रूपमा नागरिकका मुद्दाहरू प्रखर रूपमा उठाउने र ती मुद्दाहरूलाई तार्किक निष्कर्षमा पु¥याएर सरकारलाई सम्बोधन गर्न बाध्य पार्ने उल्लेख गरे । आफ्नो राजनीतिक प्रतिवेदन आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक मार्गदर्शन बन्ने उनले बताए । 

फागुन २१ को निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम भोगेको र संसदमा उपस्थिति खुम्चिएको भन्दै सभापति थापाले यसलाई केवल चुनावी प्रचार वा आन्तरिक बेमेलको रूपमा मात्र हेरियो भने थप दुर्घटना हुने धारणा राखे । उनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उमेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने र मतको अंकगणितका लागि आफ्नो मौलिक पहिचानलाई कमजोर नबनाउने प्रतिवेदनमा उल्लेख गरेका छन् । आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति समेत कांग्रेसले अघि सारेको छ । उनले नीति र विचार निर्माण, उम्मेदवार छनोट तथा नेतृत्व चयनमा सदस्यको प्रत्यक्ष सहभागिता विस्तार गर्ने दिशामा अग्रसर हुने उल्लेख गरे ।

पहाड, हिमाल र मधेस तराई गरी तीन क्लस्टरमा विभाजन गरी कांग्रेसले बन्द सत्र व्यवस्थापन गरेको छ ।  हिमाल हलमा कोशी प्रदेशका एक हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी दुई हजार ३३१ प्रतिनिधि सहभागी छन् । 

त्यस्तै, पहाड हलमा बागमती प्रदेशका एक हजार २१७ र लुम्बिनी प्रदेशका एक हजार नौ गरी दुई हजार २२६ प्रतिनिधि सहभागी छन् । तराई–मधेस हलमा मधेस प्रदेशका एक हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन् ।