काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराउन देखिएका कानुनी जटिलता हटाउन सरकारलाई सुझाव दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा आङदेम्बेले रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीको विशिष्ट अवस्थालाई ध्यानमा राख्दै त्यसलाई विशेष अवस्थाका रूपमा लिएर आवश्यक कानुनी संशोधन गर्नुपर्ने धारणा राखे।
उनले विपद् प्रभावित क्षेत्र र परिवारका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राहत तथा पुनःस्थापनाका काममा विद्यमान कानुनी जटिलता बाधक बन्न नहुने बताए।
आङदेम्बेले विपद् प्रभावित क्षेत्रका समस्या र समसामयिक विषयमा सांसदहरूले सदनमा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने विषय पनि पुनः स्मरण गराइएको बताए।


0 comment