काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन्।

विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो।

काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकाल्दै एकताको पहल गर्ने निर्णय गरेको हो।  

‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणका निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।