काठमाडौं - नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति  पूर्णबहादुर तामाङ (कान्छाराम) ले  चुनदेवीमा खोलेको सम्पर्क कार्यालयमा ‘नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट आफूले राखिदिएको बताएका छन्। शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कान्छारामले उक्त नेमप्लेट आफूले कुनै नेतासँग सल्लाह नगरी राखिदिएको खुलासा गरे। 

सर्वोच्च अदालत र निर्वाचन आयोगले चिनेको वर्तमान सभापति गगनकुमार थापा हुँदाहुँदै संस्थापन इतर समूहको सम्पर्क कार्यालयको एउटा कार्यकक्षको ढोका बाहिर सभापति शेरबहादुर देउवा लेखिएको सार्वजनिक भएपछि यसको चासो र चर्चा चलेको थियो ।

सबैको चासो र जिज्ञासालाई मेट्दै तामाङले कुनै नेतालाई पनि नसोधी आफूले राखेको बताएका हुन् । तर उनको कारण भने खुलाएनन् । कान्छारामलाई चुनदेवीमा सम्पर्क कार्यालय खोज्ने, रङरोगन गर्ने तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। उनी वर्तमान सभापति थापाप्रति सकारात्मक छैन । सार्वजनिक रुपमानै उनले सभापति थापा र वर्तमान कार्यसमितिको आलोचना गर्दै आएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री  देउवा स्वदेश फर्किएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चुनदेवीस्थित सम्पर्क कार्यालय लगिएको थियो। त्यहाँ देउवाका लागि छुट्टै कोठा र ‘नेपाली कांग्रेस सभापति’ लेखिएको नेमप्लेट राखिएको थियो।