काठमाडौं - दल दर्ताको अन्तिम तयारीमा रहेका डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीच सहमति नजुट्दा प्रस्तावित ‘जय नेपाल पार्टी’ गठनअघि नै विभाजन भएको छ।
राणा र प्रसाईंबीच राणा सभापति तथा प्रसाईं ‘सर्वोच्च नेता’ रहने गरी पार्टी गठन गर्ने सहमति भएको थियो। तर, पार्टी नेतृत्व र सभापतिको अधिकारका विषयमा दुई पक्षबीच विवाद बढेपछि सहमति भंग भएको हो।
प्रसाईंको अनुपस्थितिमै राणा पक्ष शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदैछ। पार्टीको नाम जय नेपाल पार्टी र चुनाव चिह्न त्रिभुज प्रस्ताव गरिएको छ।
राणाका अनुसार प्रसाईंले सभापतिका अधिकारसमेत आफैंमा केन्द्रित गर्न खोजेपछि सहमति कायम हुन नसकेको हो।
यता, प्रसाईं पक्षले भने पार्टी दर्ताका लागि भदौ ५ गतेसम्म पर्खिन राणा पक्ष तयार नभएको आरोप लगाएको छ। भदौ ५ गते पार्टी दर्ताका लागि उपयुक्त साइत रहेकाले त्यसबेलासम्म प्रतीक्षा गर्नुपर्ने प्रसाईं पक्षको भनाइ छ।
लघुवित्त तथा बैंकका पीडितहरू खाली खुट्टा काठमाडौं आएको कार्यक्रमलगायतका गतिविधिमा प्रसाईं व्यस्त रहेकाले तत्काल दल दर्ता गर्न नसकिएको उनको पक्षले जनाएको छ। प्रसाईंले शुक्रबार छुट्टै कार्यक्रममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्।
दल दर्ताको मिति र पार्टी नेतृत्वको अधिकारका विषयमा दुई पक्षबीच सहमति जुट्न नसकेपछि अब राणा र प्रसाईं पक्षले छुट्टाछुट्टै राजनीतिक दल गठन गर्ने तयारी थालेका छन्। यससँगै सहकार्य गरेर नयाँ दल निर्माण गर्ने उनीहरूको प्रारम्भिक योजना दल दर्ताअघि नै विभाजनमा पुगेको छ।


0 comment