काठमाडौं - नेपालमा घरायसी विद्युतीय उपकरणको आयात पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको छ।
उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०२५/२६ मा माइक्रोवेभ, इन्डक्सन, राइस कुकर, वाटर हिटर, कफी तथा चिया मेकरलगायत प्रमुख घरायसी विद्युतीय उपकरणको आयात मूल्य २ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा यस्तो आयात १ अर्ब ७८ करोड ८ लाख रुपैयाँ थियो। अर्थात् एक वर्षमै आयात ८६ करोड ३० लाख रुपैयाँभन्दा बढी अर्थात् करिब ४८.५ प्रतिशतले बढेको छ। आयातको यो वृद्धिले नेपाली बजारमा विद्युतीय घरायसी उपकरणको माग तीव्र रूपमा बढेको देखाउँछ।
आर्थिक वर्ष २०२५/२६ मा इलेक्ट्रो–थर्मिक कफी तथा चिया मेकरको आयात मूल्य ५३ करोड ८६ लाख रुपैयाँ पुगेको छ। इन्डक्सन स्टोभको ४८ करोड ४८ लाख र राइस कुकरको ४२ करोड ५७ लाख रुपैयाँबराबरको आयात भएको छ।
त्यस्तै, माइक्रोवेभ ओभनको आयात ३० करोड ४८ लाख, पानी तताउने उपकरणको ३७ करोड ५८ लाख तथा अन्य ओभन, कुकिङ प्लेट, बोइलिङ रिङ र ग्रिलरको आयात २० करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा अधिकांश उपकरणको आयात बढेको छ। कफी तथा चिया मेकरको आयात मूल्य ६८.४ प्रतिशत, पानी तताउने उपकरणको ५४.४ प्रतिशत, माइक्रोवेभको २७ प्रतिशत र इन्डक्सन स्टोभको ३७.८ प्रतिशतले बढेको छ। राइस कुकरको आयात भने करिब १२.६ प्रतिशतले बढेको तथ्यांक छ।
समग्रमा आर्थिक वर्ष २०२१/२२ मा यी उपकरणको कुल आयात मूल्य २ अर्ब ८ करोड रुपैयाँ थियो। २०२३/२४ मा घटेर १ अर्ब ४१ करोड रुपैयाँमा पुगेको आयात त्यसपछि पुन : बढ्दै २०२४/२५ मा १ अर्ब ७८ करोड र २०२५/२६ मा २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अर्थात् बजारमा विद्युतीय घरायसी उपकरणको माग फर्किएको मात्र होइन, तीव्र गतिमा विस्तार भइरहेको छ।
गुणस्तरहीन विद्युतीय उपकरण बिग्रिएपछि समस्या उपभोक्ताको खल्तीमा मात्र सीमित हुँदैन। छिट्टै बिग्रिने उपकरण फालिँदा ई–फोहोरको मात्रा पनि बढ्छ। उचित व्यवस्थापन र पुनर्चक्रको व्यवस्था कमजोर हुँदा विद्युतीय फोहोरमा रहेका लिड, मर्करी र क्याडमियमजस्ता विषाक्त पदार्थ वातावरणमा पुग्न सक्ने जोखिम हुन्छ।
कमसल तार, स्विच, चार्जर वा विद्युतीय उपकरणको प्रयोगले सर्ट सर्किट, ओभरहिटिङ तथा आगलागीजस्ता दुर्घटनाको जोखिम पनि निम्त्याउन सक्छ। अर्कोतर्फ, आधिकारिक वारेन्टी, स्पेयर पाट्र्स र बिक्रीपछिको सेवा नपाउने अवस्थामा उपभोक्ता सामान बिग्रिएपछि आफैं मर्मत खोज्दै हिँड्नुपर्ने हुन्छ। बजारमा आकर्षक प्याकेजिङ, कम मूल्य र आकर्षक सुविधाको सूची राखेर इन्डक्सन चुलो बिक्री भइरहेका छन्। तर, प्याकेटमा लेखिएको दाबी र उपकरणको वास्तविक गुणस्तर एउटै हो कि होइन भन्ने सुनिश्चित गर्ने जिम्मेवारी कसको भन्ने प्रश्न अझै स्पष्ट देखिँदैन।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वितरण गर्ने सिंगल पोट इन्डक्सन चुलोका लागि न्यूनतम २ हजार वाट रेटेड पावर, कम्तीमा ८६ प्रतिशत दक्षता र ०.९ पावर फ्याक्टरको मापदण्ड तोकेको छ।
२३० भोल्ट, ५० हर्जको चुलोमा आईजीबीटी ओभरहिट प्रोटेक्सन, प्यान डिटेक्टर, टाइमर, चाइल्ड लक, क्विक स्टार्ट, डिजिटल डिस्प्ले र कम्तीमा पाँचवटा कुकिङ फङ्सन हुनुपर्नेछ। चुलोको टप प्लेट कम्तीमा चार मिलिमिटर बाक्लो ए–ग्रेड क्रिस्टल ग्लासको, सप्लाई कर्ड कम्तीमा १.५ वर्ग मिलिमिटरको तीन–कोर तामाको केबल र कम्तीमा एक मिटर लामो तथा इन्डक्सन हब एलिमेन्ट तामाको कोइल हुनुपर्ने व्यवस्था छ।
हिटिङ सर्फेसको व्यास १०० मिलिमिटर वा सोभन्दा बढी र ३३० मिलिमिटरभन्दा कम हुनुपर्ने, लिकेज करेन्ट ०.२१ मिलिअम्पियरभन्दा बढी नहुने र पावर तथा तापक्रम सेटिङको सुविधा हुनुपर्नेछ। प्रत्येक उपकरणमा युनिक सिरियल नम्बर, कम्तीमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी तथा आईईसी ६०३३५–१/एनएस ५६४ अनुसारको प्रमाणपत्र र स्वतन्त्र प्रयोगशालाबाट जारी परीक्षण प्रमाणपत्र आवश्यक पर्ने मापदण्डमा उल्लेख छ।


0 comment