काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ।

बयानका लागि उनी आज बिहान ११ बजे आयोगको कार्यालयमा पुगेका थिए । करिब आधा घण्टाको बयानमा एसएसपी खड्काले त्यस दिनको घटना र आफूलाई दिइएको जिम्मेवारीबारे आयोगलाई बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेपछि अनुगमनका लागि आइतबार टेकु पुगेको टोलीलाई भेट्न रोक लगाइएको भन्दै आयोगले एसएसपी खडकासँग बयान लिएको हो ।

संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट व्यवहार गरेको आयोगको आरोप छ। संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारसँग माग गरेको छ ।