काठमाडौं - प्रधानमन्त्री बालेन शाहले जलवायु विपद्को सामना गर्न नेपाल,भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले यो प्रस्ताव राखेका हुन् ।
हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल र पृथ्वीको जीवन रक्षक प्रणालीको हिस्सा भएको उल्लेख गर्दै उनले यस संयन्त्रमार्फत भूउपग्रहको तथ्यांक आदानप्रदान, खतरनाक हिमतालहरूको संयुक्त अनुगमन र पूर्व चेतावनी प्रणालीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले हिमालय केवल नेपालको वा दक्षिण एसियाको विषय नभई समग्र पृथ्वीको जीवन आधार प्रणालीको अभिन्न हिस्सा भएको उल्लेख गरेका छन् । बढ्दो तापक्रमले हिमालयको संवेदनशील पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ । हामीले यो सङ्कट सिर्जना गरेका होइनौँ। तर यसको मूल्य हामीले अत्यन्त ठूलो मात्रामा चुकाइरहेका छौँ। तर यो विपद् नेपालभन्दा बाहिर पनि किन महत्त्वपूर्ण छ भन्ने कुरा हामीले बुझ्नुपर्छ उनले भने ।
हाम्रा हिमनदीहरू पछि हटिरहेका छन्। हाम्रा पहाडका भिरालो भूभाग अस्थिर बन्दै गएका छन्। हाम्रा नदीहरूको बहाव कम पूर्वानुमानयोग्य बन्दै गएको छ। हिमनदीमुनिका पहाडका भिरालो भूभागलाई पर्माफ्रोस्ट अर्थात् दीर्घकालसम्म जमिरहने हिउँ पग्लिँदै जाँदा चिरा पर्ने र कमजोर हुने क्रम बढेको छ। यसले हिमनदी तथा चट्टान खस्ने घटना, बाढी, पहिरो र अन्य शृङ्खलाबद्ध विपद्को जोखिम बढाइरहेको छ। यसबाट उत्पन्न विनाशले नेपाल-चीन सीमाका दुवैतर्फ ठूलो क्षति पुर्यायो। बाढीको बहाव तल्लो क्षेत्रमा हुँदै भारततर्फ पनि अघि बढ्यो। यसले हामीलाई एउटा आधारभूत कुरा बताउँछ, जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन् उनले भने ।
सम्बोधनका क्रममा उनले जलवायु न्याय कागजमा सुन्दर शब्दमा मात्र सीमित हुनु हुँदैन। प्रभावित देशका नागरिकले बारम्बार विगतको क्षति पुनर्निर्माण गर्नु भन्दा आफ्नो भविष्य निर्माण गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ भने ।
उनले आज हामीले यस्तो विश्व बनाएका छौँ, जहाँ युद्धका लागि चाहिने स्रोत–साधन सहजै पुर्याउन सक्ने चुस्त आपूर्ति व्यवस्था छ, तर मानिस बाँच्नका लागि अत्यावश्यक खाद्यान्नको आपूर्ति भने अस्तव्यस्त रहेको कुरा उल्लेख गरे ।


0 comment