काठमाडौं - नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारेका छन् ।

बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेपछि कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीबाट करिब ४५० देखि ५०० मेगावाट विद्युत् बाहिरिएको अवस्था रहेपनि उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारेका हुन् ।

उत्पादन र मागबीच बढ्दै गएको अन्तर व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य चुनौती रहेको भन्दै उहाले बर्खायामको अतिरिक्त बिजुली व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । नागरिकले चाहेको गुणस्तरीय बिजुली र निरन्तर आपूर्ति नै प्राधिकरणको मुख्य लक्ष्य रहेको उनले बताए ।

उनले उत्पादनतर्फ निजी क्षेत्रको ठूलो योगदान रहेकाले अब प्राधिकरणले ठूला जलाशययुक्त आयोजनाहरूका साथै प्रसारण लाइन र वितरण प्रणालीको सुदृढीकरणमा ठूलो लगानी गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।