काठमाडौं - बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतबाट लागूऔषध खैरो हेरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा भारतको उत्तर प्रदेश बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोडका २४ वर्षीय नदिम राईलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिए।

उनका अनुसार भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागी रोक्न खोज्दा भागेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । त्यसपश्चात टायरमा २ गोली हानी नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट पक्राउ गरिएको हो। निरौलाका अनुसार मोटरसाइकलसहित नियन्त्रणमा लिई खानतलासी गर्दा उनका साथबाट लागूऔषध खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम बरामद भएको हो।

प्रहरीले पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।

ब्युरोका अनुसार लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जनाएको छ।