काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक बिदाइको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ‘गार्ड अफ अनर’देखि उच्चपदस्थ अधिकारीको लामबद्ध बिदाइसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उडे। 

सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति, प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए। तर, प्रधानमन्त्री बालेन कुनै औपचारिक स्वागत र सम्मानबिनै अमेरिका प्रस्थान गरेका छन्। उनलाई बिदाइ गर्न गृहमन्त्री सुधन गुरुङ र पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री खड्कराज पौडेल (गनेस) त्रिभुवन विमानस्थलमा पुगेका थिए। यस कदमलाई लिएर कूटनीतिक क्षेत्रमा भने फरक–फरक धारणा देखिएका छन्। पूर्वराजदूत नीलाम्बर आचार्यले राज्यका औपचारिक परम्परा व्यक्तिको इच्छाअनुसार अकस्मात परिवर्तन गर्न नहुने बताए। पूर्वमुख्यसचिव विमल कोइरालाले भने भीभीआईपीका नाममा हुँदै आएको तडकभडक, सलामी र फजुल खर्च अन्त्य गर्ने निर्णयलाई सकारात्मक भनेका छन्। 

पूर्वराजदूत आचार्यले विगतका कूटनीतिक परम्परालाई निरन्तरता दिने कि नदिने भन्ने विषय सोचेर गर्नुपर्ने बताए। उनले यस्ता कामले कूटनीतिमा खासै प्रभाव नपर्ने पनि बताए। आचार्यले भीभीआईपी (विशिष्ट व्यक्ति) हरूलाई दिइने सुरक्षा, सम्मान तथा औपचारिक सेरेमनी (सलामी/गार्ड अफ अनर) कुनै व्यक्तिको व्यक्तिगत रुचि वा लहडको विषय नभई राज्य र पदको मर्यादाको विषय भएको बताए। संस्थागत निर्णय र स्पष्ट नीतिबिना अकस्मात वा व्यक्तिगत इच्छाका आधारमा यस्ता परम्परा र अभ्यासहरू फेर्न नमिल्ने उनको तर्क छ। 

कूटनीतिज्ञ आचार्यका अनुसार राष्ट्रपति, प्रधानमन्त्रीजस्ता उच्च सार्वजनिक पदमा आसीन व्यक्तिहरूलाई दिइने सम्मान, सुरक्षा र औपचारिक बिदाइ वा स्वागत राज्यको दायित्वभित्र पर्छ। ‘जो व्यक्ति उक्त पदमा बस्छ, त्यो पदप्रतिको सम्मान र सुरक्षा कायम राख्नु राज्यको कर्तव्य हो,’ उनले भने, ‘त्यो पद कुनै व्यक्तिको निजी सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो। जति ठूलो पद हुन्छ, उति नै ठूलो सार्वजनिक सम्पत्ति हुन्छ।’
विशिष्ट पदमा रहेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत इच्छाअनुसार ‘मलाई यो चाहिन्न’ वा ‘म यो गर्दिनँ’ भन्न नमिल्ने तर्क गर्दै आचार्यले पदले जे माग गर्छ, त्यो पूरा गर्नुपर्ने बताए। उनले थपे, ‘आफूलाई मन लाग्यो भन्दैमा जहाँ पाए त्यहीँ जाने, चाहेअनुसारको लुगा लगाउने वा नियम–परम्परा नमान्ने भन्ने हुँदैन। पदको सम्मान र भरोसा कायम राख्न निर्धारित नियम पालना गर्नैपर्छ।’

विदेश भ्रमणमा जाँदा दिइने गार्ड अफ अनर वा अन्य औपचारिक बिदाइ/स्वागतका कार्यक्रमहरूलाई हटाउने वा राख्ने भन्ने विषयमा लहडका भरमा निर्णय लिन नहुने उनको भनाइ छ। यस्ता विषयमा संस्थागत रूपमा व्यापक छलफल गरी सकारात्मक र नकारात्मक दुवै पक्षको मूल्यांकन गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा उनको भनाइ छ। 

राज्यले चाहेमा विद्यमान परम्परा र औपचारिक परिपाटीहरूलाई आधुनिक समय सापेक्ष, कम खर्चिलो, कम भड्किलो र विश्व सभ्यतासँग मेल खाने गरी परिमार्जन गर्न भने सकिने उनले स्पष्ट पारे। तर, जुनसुकै परिवर्तन पनि सोचविचार गरेर संस्थागत र परिपक्व निर्णयमार्फत मात्रै अभ्यासमा ल्याइनुपर्ने उनको निष्कर्ष छ।

पूर्वमुख्यसचिव विमल कोइरालाले भीभीआईपीहरूलाई दिइने सुरक्षा सलामी, स्वागत र बिदाइका नाममा हुँदै आएको तडकभडक र फजुल खर्च अन्त्य गर्ने निर्णय अत्यन्तै स्वागतयोग्य भएको बताएका छन्। यस निर्णयले समाजमा विकसित हुँदै गएको ढोंगी संस्कृतिलाई रोक्न ठूलो मद्दत पु¥याउने उनको तर्क छ। पूर्वमुख्यसचिव कोइरालाका अनुसार पछिल्लो समय विशिष्ट व्यक्तिहरूको भ्रमण र कार्यक्रमहरूमा अनावश्यक तडकभडक बढेको थियो। ‘मन्त्रीहरू जिल्ला जाँदा पनि सुरक्षा सलामी चाहिने, पूर्वप्रधानमन्त्रीहरू जाँदा सचिवदेखि राजदूतसम्म लाइन बसेर स्वागत–बिदाइ गर्नुपर्ने र यसबाट विदेशीहरूलाई समेत दुःख हुने स्थिति बनेको थियो,’ उनले भने, ‘यस्तो खराब परम्पराको अन्त्य हुनु खुसीको कुरा हो।’  

विशिष्ट व्यक्तिहरूको स्वागत र बिदाइमा हुने यस्ता अभ्यासहरूलाई कतिपयले परम्पराका रूपमा तर्क गरे पनि कोइरालाले भने खराब नजिर वा परम्पराहरूलाई समयक्रममा खारेज गर्दै जानुपर्ने स्पष्ट परे। ‘खराब नजिर वा परम्पराहरू छन् भने तिनलाई हटाउँदै जानुपर्छ,’ उनले भने।

हालैका प्रशासनिक सुधार र सादगीतर्फका प्रयासहरूको प्रशंसा गर्दै कोइरालाले आफ्ना लागि दुईवटा सुधारका निर्णयहरू विशेष मन परेको बताए। 

‘एउटा, माला र खादा नलगाउने तथा शिलान्यास वा उद्घाटन कार्यक्रममा नजाने निर्णय र दोस्रो, यो भीभीआईपीको अनावश्यक तडकभडक र सलामी परम्पराको अन्त्य,’ उनले भने, ‘यी दुवै निर्णयहरू अत्यन्तै सकारात्मक र राम्रा सुरुवात हुन्।’