काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ गतेदेखि हुने सहिद स्मारक ए डिभिजन लिगको ५० प्रतिशत तयारी भइसकेको जानकारी दिएको छ।

डबल राउन्ड रोबिन लिग पद्धतिमा हुने लिगका कुल १८२ खेल दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुने एन्फाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दियो।

‘अब एक महिना बाँकी छ, हामीले यसलाई काउन्ट डाउनका रूपमा पनि हेरेका छौं, त्यसैअनुसार तयारी पनि गरिरहेका छौं,’ एन्फाका महासचिव किरण राईले भने, ‘प्रोमोशन र प्राविधिक कुरा बाँकी छ। बाँकी तयारी भइसकेको छ।’

यद्यपि, लिग सुरु हुन २९ दिन बाँकी रहँदासम्म पनि मुख्य प्रायोजक नपाउनुलाई गम्भीर रूपमा हेरेको पनि महासचिव राईले बताए।

‘प्रमुख प्रायोजक नपाउनुलाई गम्भीर रूपमा हेरेका छौं। प्रयास गरिरहेका छौं। कतार एयरवेजले नै प्रायोजन गर्ने सम्भावना छ। कुरा भइरहेको छ। वहाँहरुले नसक्ने हुनुभयो भने अर्को खोज्ने भन्ने हो,’ उनले भने।

लिगको पूरा तालिका सार्वजनिक नगर्नुको कारण बीचमा परेको फिफा डे भएको बताएका छन्।

‘पहिल्यै निकाल्नु पर्ने हो। तर, क्लबसँग बस्दा फिफा डेमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, वा केही साफको तयारीका लागि केही हुन सक्छ,’ लिग निर्देशक सन्जीव मिश्रले भने।

खेलाडी दर्ताको प्रक्रिया जारी रहेको र माघ २९ सम्म खेलाडी दर्ता भइसक्ने विश्वास व्यक्त गर्दै निर्देशक मिश्रले प्राविधिक कारणले मात्रै ढिलो भएको तर गम्भीर समस्या नहुने बताए।

‘माघ २९ गतेसम्म समय राखेका छौं। कतिपय विषयहरू छन्, सुरुमा क्लबहरूले नै खेलाडीको इन्स्योरेन्स गर्ने भन्ने थियो। तर, पछि एन्फाबाट पाउने तयारी खर्चबाटै त्यसको व्यवस्था होस् भनेपछि केही ढिलो भएको हो।’

एन्फाले चाहेर पनि क्लबहरु लामो समय लिग खेल्न नचाहेकाले तीन महिनामा सकाउनु पर्ने निर्देशक मिश्रले बताए।

‘ए डिभिजन लिगका क्लबहरु तीन–दुई महिनामा लिग सकाइदिने भन्छन्। ए डिभिजन लिगका क्लबहरुले छिटै सकाउन दबाब दिन्छन्,’ उनले भने, ‘कोही क्लबहरु त एक वा दुई गते लिग सकिने भयो भने अर्को एक महिनाको तलब दिनुपर्छ त्यसैले मसान्त भित्रै सकाउँ भन्ने क्लबहरु पनि छन्।’

ए डिभिजन लिगको विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगमा एक क्लबले फेयर प्ले अवार्ड स्वरूप तीन लाख पुरस्कार उपलब्ध गराउने एन्फाको तयारी छ।

यस्तै, उत्कृष्ट उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले दुई-दुई लाख प्राप्त गर्नेछन्। उदीयमान खेलाडीले एक लाख ५० हजार र प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन्। 

बराबरी हुँदा २५–२५ हजार बाँडिने र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ पाउने पनि एन्फाले जानकारी दिएको छ।