काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए।
प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उनले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताए । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उनको भनाइ छ ।
उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरे । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार तासको घर जस्तै ढल्ने चेतावनी दिए ।
सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अङ्गका रूपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएको प्रति कडा विरोध गर्दै गल्ती भए कारबाही गर्न तर धम्कीको शासन नचलाउन सुझाव दिए । सरकार संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्ने र सांसदहरूले जनताको तर्फबाट ‘वाच डग’ को रूपमा खबरदारी जारी राख्नुपर्ने उनको भनाइ छ ।


0 comment