काठमाडौं - नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गते नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको समयतालिका परिमार्जन गरेको हो ।

 रसुवाको भोटेकोशीमा आएको वाढी र विभिन्न जिल्ला र क्षेत्रबाट आएको राय, सल्लाह, सुझावलाई समेत ध्यानमा राखी अन्य तहगत अधिवेशनका कार्यक्रमको विस्तृत समयतालिका परिमार्जन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले जानकारी दिए ।

नयाँ कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ गते शनिवार र ४ गते आइतवार  स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने, गाउँ–नगरपालिका अधिवेशन ७ गते वुधवार र प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिवार गर्ने निर्णय भएको खड्काले बताए ।

त्यस्तै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिंग जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ भने  नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने गरि कार्यतालिका तय भएको छ ।