काठमाडौं - गृहमन्त्री सुधन गुरुङले सहिदले देखेको सपना पूरा गर्ने गरी देश बनाउने काममा निरन्तर लागि परेको बताएका छन् । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफू र नेपाल सरकारका सम्पूर्ण मन्त्रीहरू सहिदले देखेको सपना र जनताको भरोसा टुट्न नदिन निरन्तर खटिरहेको बताए। उनले जनता ठूलो आशाका साथ आउँदा आफ्नो तर्फबाट कुनै कमी–कमजोरी नहोस् भनेर रातमा सुत्न पनि डर लाग्ने गरेको उल्लेख गरे।

जेनजी आन्दोलन इतिहास भइसकेको र ३ करोड नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कसैले फेर्न वा अपमान गर्न नसक्ने उनले बताए । अहिले पनि केहि नेताहरुले जेनजी आन्दोलनलाई अपमान गर्ने गरेको भन्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूलाई समयमै सुध्रिन आग्रह गरे । उनले आफ्नो अडान र लक्ष्यबाट पछि नहट्ने, बरु जस्तोसुकै चुनौती वा गोलीको सामना गर्न तयार रहेको धारणा राखे ।

आफूहरू राजनीति सिक्न नभई युवा पुस्तालाई सेवाको राजनीति गर्दै आएको उनको भनाइ छ । उनले मन्त्रीको कुर्सीलाई आफूले सत्ता र शक्तिको रूपमा नलिएको बताए । गृहमन्त्री गुरुङले प्रहरी लगायतका सम्पूर्ण सुरक्षाकर्मीहरूलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्दै यसपटकको गृहमन्त्री ‘घुस्याहा’ नभएको र उनीहरूको साथमा सधैं उभिने बताए ।