काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले विपद्को समयमा राष्ट्रिय एकता कायम गरेर वेपत्ताको खोजी लगाएत विपद् व्यवस्थापनका कार्यलाई निरन्तता दिनुपर्ने बताए ।
उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने उल्लेख गरे । विपद्को कारण र प्रभावबारे स्वतन्त्र, बहु–विषयगत र वैज्ञानिक छानबिन हुनुपर्ने उनले माग गरे । साथै उनले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गरिनुपर्ने बताए।
प्रभावित परिवारहरूको पुनर्वास र जीविकोपार्जन पुनरुत्थानका लागि स्पष्ट समयबद्ध कार्ययोजना आउनुपर्ने उनले बताए । हिमाली विपद् तथा टनेल रेस्क्युका लागि स्थायी राष्ट्रिय विशेष उद्धार संयन्त्र स्थापना गरिनुपर्ने समेत उनको भनाइ छ । नेपाल शोकमा रहे पनि बन्द नभएको सन्देश दिँदै सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर भ्रमणलाई निरन्तरता दिन उनले विश्व समुदायलाई आग्रह गरे ।
कठिन समयमा नेपालको पर्यटन जोगाउनु नै मुलुकको पुनरुत्थानमा ठूलो सहयोग हुने उनले बताए । उनले नेपालले विश्वसँग केवल सहानुभूति मात्र नभई जलवायु संकटमा न्यून भूमिका भएर पनि असमान मूल्य चुकाउनु परेकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।


0 comment