काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का सात जना केन्द्रीय सदस्यले क्यानका अध्यक्ष, सचिव र कोषाध्यक्षको राजीनामा माग गरेका छन्। 

गत पुसमा त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको प्रतियोगितामा स्पट फिक्सिङ जस्ता दुःखद् घटना भएको र क्यान नेतृत्वले त्यसको पूर्ण जिम्मेवारी लिन पत्रकार सम्मेलनमार्फत माग गरिएको छ।

सम्मेलनमा केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पटक–पटक सचेत गराउँदा पनि क्यान नेतृत्वले जानाजान गल्ती गरेको बताए।

‘गत बिहीबार क्यान अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशन सिंहले गरेको पत्रकार सम्मेलन क्यानको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहन्छौं,’ सात सदस्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘किनभने यस विषयमा बोर्डमा छलफल गरिएको थिएन। क्यान नेतृत्वले जानाजान गरेको गल्तीले नेपाली खेलाडी प्रहरी नियन्त्रणमा हथकडी सहित देखिनु अर्को दुःखद्। पक्ष हो।’

क्यानका अध्यक्ष चन्दले बिहीबार जारी पत्रकार सम्मेलनमा सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु गल्ती भएको बताएका थिए। तर, जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्रै नपुग्ने र त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने उनीहरुले माग गरेका छन्।

‘स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुन दिनको लागि बाटो खोलिदिन पदाधिकारीहरुको गलती र कार्यसम्पादन समितिका सदस्यहरुको भागिदार नेपाल क्रिकेट संघ हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन, कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्दछौं।’

आफूहरुले पटक–पटक सचेत गराउनुका बाबजुद पनि त्यही कम्पनीलाई नेपाल क्रिकेट सुम्पिने हठले नेपाली क्रिकेटको यो दुर्दशा भएको उनीहरूले बताएका छन्।

‘हामीले यो कम्पनीलाई क्रिकेट सुम्पिनु सही कदम हुँदैन भनेर पटक–पटक जानकारी गरायौं, सचेत गरायौं,’ संजयराज सिंहले भने, ‘अध्यक्ष ज्यूले हैकमावादी चलाउनु भो र क्रिकेट त्यही कम्पनीलाई सुम्पिनु भो। त्यसको परिणाम आज सबैको सामने छ।’

भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमी र उसको नियतमाथि सुरुदेखि नै आशंका गरेर जानकारी गराएको र आज त्यही साबित भएको उनीहरुले बताए।

‘यो कार्यसमिति नेपाली क्रिकेट इतिहासकै सबैभन्दा बदनाम यही नेतृत्व हो,’ केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, ‘हामी नेपाली क्रिकेटलाई जोगाउन, मर्न नदिन, निलम्बनबाट जोगाउन यहाँ उपस्थित भएका हौं।’