काठमाडौं - पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्य जारी छ । बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।
पछिल्लो वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । केहि स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै केही समय लाग्ने सक्ने उनले जानकारी दिए।
उनले जापानी ठेक्का अन्तर्गतको काभ्रेपट्टिको अन्तिम खण्डमा बाढीले सडक धेरै बगाएकाले काम सम्पन्न हुन मंगलबारसम्म लाग्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएको उल्लेख गरे । काभ्रेका प्रमुख जिल्ला अधिकारी लगाएत सुरक्षानिकायका प्रतिनिधिहरुले अवरुद्ध बीपी राजमार्गको स्थलगत निरिक्षण समेत गरेका थिए ।


0 comment