काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। झापामा सोमबार आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले चुनावमा नराम्रो पराजय व्यहोरे पनि एमाले मैदान छोडेर भाग्ने पार्टी नभएको बताए।
अध्यक्ष ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कृतिको संरक्षणका लागि एमाले अविचलित रूपमा अघि बढ्ने बताए। मुलुकमा भइरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत र सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
एमाले जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै ओलीले पार्टी ‘भगौडा’ नभई परिस्थितिसँग जुध्दै अघि बढ्ने शक्ति भएको बताए। निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तालाई निराश बनाउनु नहुने उनको भनाइ थियो।
उनले देशलाई सही दिशामा अघि बढाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे। मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि ओलीले जोड दिए।


0 comment