काठमाडौं - रौतहटबाट भारतको देवघरस्थित बाबा वैद्यनाथ धामको दर्शन तथा पूजा गरेर राजगीरतर्फ जाँदै गरेको नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्।
शुक्रबार बिहान झारखण्डको कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रअन्तर्गत पोखरडीहा मोड नजिकै बस सडक किनारमा रोकिराखेको ट्रकको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा १० वर्षीय शिवम् कुमार, ६० वर्षीया सुन्दर बाला र ६० वर्षीय नवल किशोरको मृत्यु भएको जनाइएको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाको विवरण अनुसार बस करिब चार दिनअघि रौतहटबाट भारतको देवघरका लागि प्रस्थान गरेको थियो। बाबा वैद्यनाथ धामको दर्शन सकेपछि शुक्रबार बिहान बस देवघरबाट बिहारको राजगीरतर्फ जाँदै थियो। पोखरडीहा मोड नजिक पुग्दा चालकलाई निद्रा लागेपछि बस अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको अनुसन्धानबाट खुलेको छ।
ठक्करका कारण बसको अगाडिको भागमा ठूलो क्षति पुगेको थियो भने केही यात्रु बसभित्रै च्यापिएका थिए। दुर्घटनालगत्तै स्थानीय हरू र सतगावाँ प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए। घन्टौँको प्रयासपछि बसमा च्यापिएका यात्रुहरूलाई बाहिर निकालिएको थियो।
घाइते सबैलाई उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि सदर अस्पताल पठाइएको भारतीय प्रहरीले जनाएका छन्।
सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार बस चालकले रातभर सवारी चलाएका कारण निद्रा लाग्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ।


0 comment