रोल्पाको सुनछहरी गाउँपालिका-२, भित्रीगाममा पहिरोले पुरिएर ४ जना बेपत्ता भएका छन्। कोटलबाराको पहिरोको घटना सेलाउन नपाउँदै भित्रीगाममा २ महिला र २ पुरुष पुरिएका हुन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (प्रनाउ) पञ्चकुमार बाखुका अनुसार बिहीबार राति करिब १० बजे घरमाथि पहिरो खसेको थियो। पहिरोले एउटा घरका १ पुरुष र २ महिला तथा अर्को घरका १ पुरुषलाई पुरेको हो।
प्रहरीलाई शुक्रबार बिहान मात्र घटनाको खबर प्राप्त भएको थियो। प्रनाउ बाखुका अनुसार सूचना पाउनेबित्तिकै बाहिरीगाम र सिउरीबाट प्रहरी टोली घटनास्थलतर्फ लागिसकेको छ।
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले पहिरोमा परी चारै जनाको मृत्यु भएको जानकारी दिएका छन्। अध्यक्ष पुनले आफू घटनास्थल जाने तयारीमा रहेको कुरा सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
सुनछहरी गाउँपालिकाको सीमा क्षेत्र उवा, कोटलबारामा गएको पहिरोका बेपत्ताको उद्धार गरी फर्किने क्रममा फुलीवनमा बाटो अवरुद्ध हुँदा रातभर भोकै बस्नुपरेको र त्यही क्रममा भित्रीगाममा पहिरोले मानवीय क्षति भएको सूचना पाएको उनले बताएका छन्।
कोटलबारामा उद्धारका लागि पुगेका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेश प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लगायत करिब एक सय जनाको टोली बाटो अवरुद्ध भएका कारण रातभर गाडीमै भोकै बसेको थियो। बाटो रोकिएकै ठाउँबाट टोली अर्को घटनाको उद्धारमा जुट्नुपरेको छ। भित्रीगाममा गएको पहिरोस्थल कोटलबाराभन्दा पूर्वतर्फ पर्दछ।


0 comment