काठमाडौं – लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन्।

आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराए।

प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले शपथ लिएकी हुन्।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत् निर्विरोध चयन गरिएको थिथियो। प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।

साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए।