काठमाडौं - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले  कर्मचारीको निष्ठा तथा संस्थाको गरिमामा आँच पुग्ने गरी गरिने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित र तथ्यमा आधारित हुनुपर्ने बताएका छन्।  

वर्षौंदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि बिना आधार आरोप लगाउने प्रवृत्तिले  कार्यसम्पादन र मनोबलमा असर पार्ने बताए। उनले जिम्मेवार पदमा बसेर बोल्दा शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिए।

तथ्य र प्रमाणबिनाका आरोपले संस्थाभित्र काम गर्ने कर्मचारीलाई निरुत्साहित पार्न सक्ने भन्दै उनले सार्वजनिक निकायका बैठकमा संस्थागत मर्यादा कायम गर्नुपर्ने बताए। प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी तथा निवेदनको प्रसंग उल्लेख गर्दै उनले सबै विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनको धारणा थियो ।

‘आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई ल्याएर यहाँ जे मन लाग्यो त्यही भन्ने? जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला,उनले भने,‘ कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि, ‘हाम्रा पनि निवेदन परेका छन्। सबैका निवेदन यस्तै गरी आउँदा गाह्रो पर्छ। अब म पनि सोच्दै छु, ल्याऊँ कि क्या हो।’

बैठकमा सांसद खगेन्द्र सुनारलगायतका सांसदहरूले नेपाल प्रहरीको कामकारबाहीसँग सम्बन्धित विषयमा प्रश्न तथा आरोप उठाएका थिए।