काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन सरकारले प्रतिबद्धता पूरा नगर्दा युवाहरूमा फेरि निराशा बढ्न थालेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले रोजगारी सिर्जना गर्ने काममा सरकारले पर्याप्त ध्यान नदिएकै कारण युवाहरु विदेशिन बाध्य भएको बताए ।
देशमा सुशासन कायम गरी विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा दिएको आश्वासन अनुसार सकारले काम नगरेको भन्दै असन्तुष्टि प्रकट गरे। नेता आङ्दम्बेले जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो? उनीहरूले चाहेको सुशासन कहाँ छ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ?’भनी सरकारलाई प्रश्न समेत गरे ।
त्यसो त उनले निर्वाचनअघि सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले विदेशका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउन स्टिकर टाँस्ने र देशमै रोजगारी दिने घोषणा गरेको स्मरण गराएका छन्।
सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काएर उपयुक्त काम दिन नसकेको उनको भनाइ थियो ।
सभापति लामिछानेले चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरेका थिए।
आङ्देम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।


0 comment