काठमाडौं - प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईनलाई पक्राउ गरेको हो ।

एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट साउन १२ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।