काठमाडौं - नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘कालो चस्मा’ खोलेर वास्तविकता हेर्न आग्रह गर्दै आफूलाई एक्लै लड्नुपर्ने अवस्था किन आएको हो भन्ने प्रश्न गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद काउचाले शुक्रबार प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक्लै लड्नुपरेको आशय व्यक्त गरेको प्रसंग उल्लेख गर्दै यस्तो धारणा राखेकी हुन्।

उनले सत्तापक्षकै सांसदहरूले सरकारलाई खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले आफूलाई एक्लो महसुस गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न गरिन्।

‘सत्तापक्षकै सांसदहरूले खबरदारी गर्न खोज्दा एक्लो महसुस गर्नुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? त्यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ,’ उनले भनिन्, ‘कालो चस्मा खोल्नुहोस्, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्षी तपाईंको साथमा छ।’

काउचाले सरकारका सकारात्मक र मुलुकको हितमा हुने कदममा प्रतिपक्षले साथ दिने तर लोकतान्त्रिक मूल्य, विधि र संसदीय अभ्यास कमजोर पार्ने कामको भने प्रतिरोध गर्ने स्पष्ट पारिन्। उनले नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने बताइन्। तर अहिलेसम्मम उक्त अभिव्यक्ति नसच्याइएकोमा उनले दुःखसमेत व्यक्त गरिन्।

प्रधानमन्त्री सत्तापक्षको मात्र नभई समग्र मुलुकको प्रधानमन्त्री भएकाले प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो।