काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार गठन भएको चार महिना मात्रै भएकाले अहिल्यै सरकारको पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास देखिनुपर्ने बताएका छन्।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनबाट नागरिकले अपेक्षा गरेजस्तो परिवर्तन अनुभूति गर्न नसकेको स्वीकार गरे। नागरिकका सुझाव र गुनासालाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरे।

उनले सरकार गठन भएको छोटो समय भएकाले समग्र मूल्याङ्कनका लागि पर्याप्त नभए पनि यस अवधिमा सकारात्मक परिवर्तनका केही संकेत देखिनुपर्ने बताए।

मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले यात्राका क्रममा मौसमका कारण केही अवरोध आए पनि मुलुक सही गन्तव्यतर्फ अघि बढिरहेको दाबी गरे।

रास्वपामा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा तथा व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको उल्लेख गर्दै उनले जस्तोसुकै असहज परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक अभिभावकत्व पार्टीसँग रहेको बताए।

गैरराजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ तथा पेशेवरहरू देश परिवर्तनको अभियानमा सहभागी हुनु इतिहासमै दुर्लभ अवसर भएको उनको भनाइ थियो। लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको दाबी गर्दै इतिहासले सुम्पिएको जिम्मेवारी जनतासँगको सहकार्यबाट सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।