काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिकाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले भने, ‘पक्राउ परेकाहरूको घटनामा कस्तो भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । कप्तानगञ्जमा केही समयअघि भएको विवादले हिंसात्मक रूप लिएपछि भएको घटनामा तीन जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो ।

घटनाको वास्तविक कारण, हिंसा भड्किनुको अवस्था तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र पक्राउ परेकाहरूमाथि बयान लिने काम गरिरहेको छ । घटनाको अनुसन्धानपछि दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।